धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपैयाँ बराबरको मालसामान नष्ट भएको छ । यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपैयाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपैयाँ बराबरको स्कुटर जलेर नष्ट भएको डीएसपी चन्दले जानकारी दिए ।
विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो । यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो ।