अछाममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मङ्गलसेन नगपालिका–३ लाछिमनाका शेरबहादुर भण्डारी रहेका छन् । उनलाई ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, ‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन् ।’

नायब उपरीक्षक पाठकका अनुसार श्रीमान्‌ले मदिरा सेवन गरेको पाइएको छ । उनले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं । शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ ।’

हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार