युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो । प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामध्ये तीन जना भारतीय नागरिक छन् ।
पक्राउ पर्नेमा काठमाडौं-४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं-१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका-७ घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका-५ घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर-७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।
यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल छन् ।
गुपेता कुलेश्वर, अग्रवाल इन्द्रचोक र डालमिया क्षेत्रपाटी बस्दै आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । इन्द्रचोक, मरूटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायत ठाउँमा उनीहरूले ह्वाटसअपमार्फत् नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ ।
‘ठूलो रकमको बाजी राख्न लगाएर बाजी राख्दा जितिने भन्दै लाभ लिने उद्देश्यले सट्टेबाजी खेलाइएको पाइयो,’ अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।
उनीहरूले हालसम्म के कति मात्रामा सट्टेबाजी खेलाए भनी प्रहरीले उनीहरूको मोबाइल अनुसन्धान गरिरहेको छ । खेलमा जित-हारपछि हार्नेहरूले प्रहरीलाई खबर गरेका थिए । युरो कपका कतिपय दाबेदार टिम खेलबाट बाहिरिएपछि प्रहरीमा खबर पुगेको थियो ।