देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक

आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न नपाउने उनको भनाई

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएकी छन् । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संवैधानिक दायित्व भएकाले संवैधानिक नै रहेको उनको राय थियो ।

संविधानले यो-यो आधार भनेर नराखेको संविधानको पालक संरक्षकका रूपमा राष्ट्रपतिको विसडम हो । घोषित निर्वाचन विश्वसनीय आधार हो । रिट निवेदन खारेज हुनुपर्छ,’ पाठकको राय थियो, ‘स्वास्थ्य प्राथमिकता हो । निर्वाचन मितिलाई ध्यानमा राखी त्यसअगावै बालिग नागरिकलाई खोप लगाउने परमादेश जारी गरियोस् ।’

त्यस्तै उनले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन पनि संविधानसम्मत रहेको दावी गरिन् । संविधानमा धारा ७६(५) को प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार भनी कुनै पनि विषय किटान नगरेकाले यो राष्ट्रपतिको स्वविवेकमा हुने निर्णय भएको वरिष्ठ अधिवक्ता पाठकले बताइन् ।

उनले केपी शर्मा ओलीले एमालेको तर्फबाट प्रधानमन्त्रीमा दाबी गरेको अवस्थामा एमालेका सांसदहरू प्रतिपक्षी दलका सांसदलाई समर्थन गर्नु ठीक नभएको पनि बताएकी छन् । उनले भनिन्, ‘आफ्नो नेतृत्वमा मलाई सरकार बनाऊ, मलाई समर्थन गर भनेर दलभित्र भन्न पाउँछ तर आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाउँदैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार