अब कता ढल्किएला जसपा ?

प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिष्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन । बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ ।

सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साबिककै अवस्थाबाट अघि बढे आगामी साता सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने सम्भावना छ । प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच अनौपचारिक वार्तापछि मधेस–थरुहट आन्दोलनका क्रममा चलाइएका २ सय ९२ मध्ये केही मुद्दाको फर्स्योट तत्काल हुन सक्ने दाबीसमेत उच्च स्रोतले गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई तीमध्ये केही प्रमुख मुद्दाको फर्स्योट तत्काल गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइको विषय त्यसमध्ये एक हो । प्रधानमन्त्रीसँगको छलफलका क्रममा जसपाले संविधानका केही प्रावधानको संशोधन गर्ने सर्तमा मात्र सरकारमा सहभागी हुने संकेत दिएको छ । ‘यद्यपि, जसपाले माओवादी र काँग्रेससँगको सहकार्यमा भन्दा प्रधानमन्त्री ओलीसँग मिलेर सरकारमा सहभागी हुनुलाई प्राथमिकतामा राखेको छ’, पार्टी स्रोत भन्छ ।

वर्तमान राजनीतिक परिदृश्यमा जसपाभित्र दुई धार स्पष्टरूपमा देखिए पनि सत्ताका लागि फुट्ने सम्भावना भने निकै कम देखिएको छ । ‘हामी सर्वसम्मतिमा सत्तामा जान्छौं’, स्रोत भन्छ, ‘जारी भएदेखि नै संविधान संशोधन जसपाको माग रहँदै आएको छ । जसपा फुट्ने सम्भावना निकै कम छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार