बेपत्ता भएको ९ दिनपछि आइतबार जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित स्थानीयहरुले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । सुजिताको हत्या भएको भन्दै उनीहरुले तत्काल दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।
गत असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी राप्ती नगरपालिका ३ की २२ वर्षीया सुजाता भण्डारीको शव आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा भेटिएको थियो ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव भेटिएको थियो । जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् ।