ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण भएको नेता भट्टराईको भनाई

दोस्रो पटकपनि प्रतिनिधिसभा पुनःस्थापना हुने उनको दाबी

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

यसले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको उनले बताए । ‘यो दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको छ,’ भट्टराईले भने, ‘फेरी एकपटक एक पक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र फेरी सहमतिमा फर्कनुपर्छ ।’

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेताले २ जेठ २०७८ मा बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने र पार्टीलाई २०७५ जेठ २ अगाडि फर्काएर समाधान खोज्नुपर्ने बताए । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।

संसदीय व्यवस्थामा एउटा दलको सांसद भएर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन जानु गलत भए पनि त्यो मात्र संसद पुनर्स्थापना गर्ने उपाय भएको उनले बताए । अब सर्वोच्च अदालतले जे फैसला गरे पनि एमालेलाई एकताबद्ध बनाउने र एक ठाउँमा उभिने वातावरण बनाउनुपर्ने उनले बताए ।

भट्टराईले प्रतिनिधिसभा दोस्रो पटकपनि पुनःस्थापना हुने पनि दाबी गरेका छन् । सर्वोच्च अदालतमा विधटन सम्बन्धी मुद्दाको वहसको तर्क सुन्दा संसद पुर्नस्थापना हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । ‘यो पटक पनि पहिलेकोजस्तै पुर्नस्थापनाका तर्कहरु उत्तिकै बलिया छन्, उत्तिकै जोडदार छन्, संवैधानिक छन्,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसदमा अर्को विकल्पका लागि हरदम ढोका खुला राख्नुपर्ने थियो त्यसो गर्नुभएन, संविधानमा प्रतिनिधिसभा विघटन हुनै नदिने मनसायले धारा ७६ मा एक देखि ५ सम्मका प्रावधान राखिएका हुन्, त्यसैले म ढुक्क छु, प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार