घरबाट हराएकी कञ्चनपुरकी भागरतीको भारतमा रहस्यमय मृत्यु

बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । ६ दिनअघि घरबाट हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताए ।

घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए । भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भागरती केही दिनदेखि विक्रमको सम्पर्कमा रहेको कुरा बुझिएको छ ।

मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । मृतक महिलाका श्रीमान्को भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ । भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार