फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटना, ४० जनाको उद्धार

फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी फिलिपिन्समा विमान दुर्घटना भएको सेना प्रमुख सिरिलिटो सोबेजनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

आइतबार फिलिपिनी सेनाको सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा दुर्घटनामा परेको एपीले जनाएको छ । द न्यू योर्क टाइम्सले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार अहिलेसम्म १७ जना सैनिकको शव निकालिएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । विमानमा सवार ४० जनालाई जिवितै उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

सैन्य विमानले मिनडनाओ द्वीपस्थित केगन डे आरोबाट सैन्य टुकडी लिएर प्रस्थान गरेको थियो । विमान उड्न लाग्दा रन वे छोडदा नियन्त्रण गुमाउन पुगेको थियो । उक्त दुर्घटना स्थानीय समयानुसार साढे ११ बजे भएको हो । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो । उक्त जहाजमा तीन पाइलट र पाँच अन्य चालक दलसहित ९२ जना सवार रहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार