१० खेलाडीमा समेटिएको किर्गिस्तानसँग बराबरीमा रोकियो नेपाल

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए ।

चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेनन् । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । यस खेलको नतिजाले बंगलादेश भने फाइनलमा पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार