ओलीनिकट नेताहरुले कोटेश्वरमा माधव नेपाललाई भेटे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। ओलीनिकट नेताहरू आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेर उनीसँग छलफल गरेका हुन्।

केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।

आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय माधव पक्षलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको हो ।

यता पार्टी अध्यक्ष ओलीले पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आउने बेलासम्म अदालतबाट हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएका छन् । यस्तै हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने जिकिर गरेका छन् । यस्तै यसअघि शनिबार ओलीले नेता नेपाललाई टेलिफोन गरि हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । नेपाल पक्षले भने ती हस्ताक्षर फिर्ता नलिने बताइसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार