२९ वर्षपछि डेनमार्क युरो कपको सेमिफाइनलमा

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

थोमस डेलानीको गोलमा डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो । जेन्स स्टेगरको कर्नरमा अनमार्क रहेका डेलानीले हेडबाट गोल गरे । डेनमार्कको दोस्रो गोल कास्पर डोलबर्गको नाममा रह्यो । उनले जोकिम माहेलको क्रसलाई पोस्टका दिशा दिए । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

उनले ४९औं मिनेटमा भ्लादिमिर कोफलको क्रसलाई चलाखीपूर्ण ढंगले गोलमा परिणत गरे । यो उनको प्रतियोगितमा पाँचौं व्यक्तिगत गोल रह्यो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा संयुक्त रूपमा उक्लेका छन् । पोर्चुगलको क्रिस्टियानो रोनाल्डोले पनि समान पाँच गोल गरेका छन् ।

डेनमार्क लिगका सुरुआती दुई खेल गुमाएर पनि नकआउट चरण प्रवेश गरेको हो । डेनमार्क यस्तो उपलब्धि हात पार्ने युरो इतिहासकै एक मात्र टिम बनेको छ । अन्तिम १६ मा भने उसले वेल्सलाई हराएको थियो ।

डेनमार्क सन् १९९२ को युरोको विजेता पनि हो । त्यसयता २९ वर्षको अन्तरमा डेनमार्क पहिलोपल्ट सेमिफाइनल पुग्न सफल रह्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार