स्वास्थ्यमा सुधार भएपछि गृहमन्त्री श्रेष्ठलाई जनरल वार्डमा सारियो

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको हो।

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

‘अवस्था सामान्य बन्दै गएपछि उहाँलाई जनरल वार्डमा सारिएको छ,’ राजदूत श्रेष्ठले भने, ‘वार्डमा कतिदिन बस्नुपर्ने हो, चिकित्सकले भनेका छैनन्।’

बिहीबार (हिजो) बिहान गृहमन्त्री श्रेष्ठले चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम थियो। तर, राति नै हृदयाघात भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।

हृदयाघात भएपछि श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार