चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरूको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज सम्मान गरेको हो ।
बडादसैँ, दीपावली तथा छठपर्वलाई लक्षित गरेर सङ्गठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामा रूटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।
सम्मानित हुने चालकमा हरेराम खड्का, श्यामबहादुर गुरुङ, सचिन महत, दीपक गौतम, जगत् पौडेल , गोविन्द ढकाल, रविन रिजाल, र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । उनले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गरे ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गरे ।