उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
आज बसेको मन्त्री परिषदको बैठकमा उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने, ‘‘उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ र बोल्न थाल्नु भएको छ ।’’
यसैबीच ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले बिहीबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गर्दै उनको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेको र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्णरूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयाघात भएको थियो ।
चीन सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।