विजया दशमी सुरु भएसँगै यतिबेला वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ । नेपाल तर्फ वीरगन्ज बजारमा भने खासै भीड देखिएको छैन् ।
नेपाली बजारभन्दा भारतीय बजारमा दसैँ लागि आवश्यक खाद्यान्नसहितका विभिन्न दैनिक उपभोग्य सामग्री सस्तोमा पाइने भएकाले पर्साका विभिन्न ठाउँबाट दसैँका सामग्री खरिद गर्न नेपाली भारतीय बजार रक्सौलतर्फ जाने गरेका छन् ।
ठूलो सङ्ख्यामा नेपाली अहिले दिनहुजसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेका हुन् ।
नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैँ लगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारी भारतीय बजार आउने गरेको रक्सौलमा समान खरिद गरिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताए ।
नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक खाद्यान्नको मूल्य प्रतिकिलो १० देखि २० सम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारी जान्ने गरेको उनको भनाई छ ।
भारतीय सिमासुरक्षा बल (एसएसवी)का जवानहरुले दसैँ अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अहिले अरु दिनको तुलनमा भीड बढ्न गएको छ । नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामललगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी रामकुमार अग्रवालको भनाइ छ ।
टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भीड लाग्ने गरेको बताए ।
दसैँ जस्तो समयमा पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ ।