२६ दिनअघि राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्तिले गरे प्रेमिकाको हत्या

राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विकले प्रेमिकाको हत्या गरेका छन् ।

मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन् ।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव फेला परेको थियो ।

घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए । मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन् । प्रेम सम्बन्धमा रहेका उनीहरुबिच महिलाले बिहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर हत्या गरेको प्रहरीको भनाई छ ।

मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो । उनले भावनाको हत्या गरेको स्वीकार गरेका डीएसपी भट्टराईले बताए ।

असोज २८ गते लोकेन्द्र र भावनाले पतिपत्नी उल्लेख गरेर होटलको कोठा बुक गरेका थिए । मंगलबार बाहिरबाट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । ताला खोलेर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले तालिमप्रप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकेन्द्र दोषी देखिएका डीएसपी भट्टराईले बताए ।

लोकबहादुर बहुविवाह मुद्दामा जेल परेका थिए । रुकुम पश्चिम जिल्ला अदालतले उनलाई ११ महिना कैद तोकेको थियो । उनकी पहिली पत्नी वैदेशिक रोजगारीमा गएपछि उनले दोस्रो विवाह गरेका थिए ।

बहु विवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेका लोकबहादुरलाई गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले सजाय माफी दिएको थियो ।

कारागारमा रहँदा पनि भावनाले लोकेन्द्रलाई भेट्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुबिच अनैतिक सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाईल समेत बरामद गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार