मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरूलाई कारबाही गर्ने ओलीको चेतावनी

नेपाल पक्षले आफूहरूलाई अलमल्याउने काम मात्र गरेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आउने बेलासम्म अदालतबाट हस्ताक्षर फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर सर्वोच्चको फैसलासम्म कायम राखे कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले एमालेको विपक्षमा नै रहेर हस्ताक्षर गर्नेहरू पार्टीका कार्यकर्ता नभएको जिकिर गरेका छन् ।

ओलीले पार्टीका नेता माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन हर सम्भव प्रयास गरे पनि समर्थन हुन नसकेको बताए । माधव नेपाल पक्षले वार्ता भनेर आफूहरूलाई अलमल्याउने मात्र काम गरेको आरोप लगाएका छन् । त्यसका लागि दुई जना नेता खटाएको उनको आरोप छ ।

त्यस्तै उनले पार्टीलाई कमजोर बनाउन र जनतामा निराशा छर्ने काम भएको गुनासो गरे । उनले सरकारविरुद्ध बनाइएको मोर्चा असभ्य तवरको रहेको जिकिर गरेका छन् ।

यसअघि शनिबार ओलीले नेता नेपाललाई टेलिफोन गरि हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा नेपालले ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार