बीएण्डसीको सम्बन्धनबारे निर्णय गरिदिन प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंको आग्रह

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरेका छन् । त्यस्तै उनले सम्बन्धन नदिने भए सरकार आफैले सञ्चालन गर्न वा सँधैका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले पटक–पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको बताए ।

सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट सङ्ख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने काम भएको उनको भनाइ छ ।

प्रसाईँले मेची अञ्चलवासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन खोजेको जिकिर गरे ।

प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा. भोजराज अधिकारी, प्रा. डा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले अहिलेसम्म रिपोर्ट पेस गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले आपत्ति जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार