नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए ।
प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने नेपालको भनाइ थियो । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।
उनले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन ।’
अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए । गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने उनको भनाइ छ ।