काभ्रेमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो, एक जनाको मृत्यु

काठमाडौंबाट दसैँका यात्रु लिएर रामेछाप जाँदै गरेको विद्युतीय गाडी आज बिहान काभ्रेको पनौतिमा दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी सुन्दरवस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्‍याइएकामा बिहान साढे ७ बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ ।

बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको उक्त गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर घाइते भएका छन् ।

यस्तै मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार