इजरायलबाट भारत आइपुगे १८ नेपाली, घरसम्म पुग्न गाडीको व्यवस्था

इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएको हो ।

उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी पनि राजदूत शर्माले दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपालको आग्रह बमोजिम भारत सरकारले आफ्ना नागरिकहरुसँगै १८ जना नेपालीलाई पनि उद्धार गरिदिएको हो ।

यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो ।

सम्बन्धित समाचार