हिमाली जिल्ला मनाङमा सुरूआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन ।
जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरूङले जानकारी दिए । ‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो । यस वर्ष समयमा नै सुरूआत भएको छ,’ अध्यक्ष गुरूङले भने ।
उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेक लगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरू भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् ।
‘हिमपात नहुँदा पानी अभाव हुन्छ र उत्पादन कम हुन्छ । यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरूआत भएको छ। यसले किसानलाई फाइदा हुन्छ,’ उनले भने ।
हिमपात भएपछि याक, चौंरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरूङले बताए । गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानी अभाव भएको थियो । यस वर्ष समयमै हिमपात सुरू हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।