सरकारले काठमाडौंका केही पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ । काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री कार्यालय, र आयल निगमको संयुक्त अनुगमन टोलीले छड्के अनुगमन गरिएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए । सोही अनुसार दिउँसो काठमाडौंका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टले जानकारी दिए । उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको उनले बताए ।
चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगि हुन सक्ने भएकाले अनुगमन गरिएको उनले बताए ।