गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन मैले निकै ठूलो संघर्ष र पहल गरेको छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् ।

गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए ।

उनले पचासौं लाख गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको जानकारी दिँदै यो निकै ठूलो उपलब्धि भएको दाबी गरे ।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु,’ उनले भने, ‘त्यसकै बलमा तपाईंहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानूनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्यो । निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो ।’

आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रहसमेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार