ब्रसेल्समा गोली चल्दा बेल्जियम र स्वीडेनबीचको खेल रोकियो

युरो–२०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल सुरक्षाका कारण स्थगित गरिएको छ । यी दुई टिमबीचको खेलअघि ब्रसेल्समा दुईजनाको गोली हानी हत्या भएपछि सुरक्षाका कारणले हाफ टाइममा रोकिएको हो ।

किंग बाउडोइन सरंगशालामा खेल स्थगित गर्ने निर्णय लिँदा दुवै टिम १/१ को बराबरीमा थिए ।

घटनाबारे एक विज्ञप्ति जारी गर्दै यूईएफएले स्थानीय पुलिससँगको सल्लाहमा खेल स्थगित गरिएको जनाएको छ ।

“आज साँझ ब्रसेल्समा एक हमलापछि दुई टिम र स्थानीय पुलिससँगको परामर्शपछि यो निर्णय भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

स्वीडिस एफएले सामाजिक सञ्जालमा पोष्ट गर्दै स्वीडेनका समर्थकलाई सुरक्षाका कारण मैदानमै रहन आग्रह समेत गरेको थियो ।

छनोटमा बेल्जियम र स्वीडेन समूह ‘एफ’मा छन् । समूहमा ६ खेलबाट १६ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ । पाँच खेलबाट ६ अंक जोडेको स्वीडेन तालिकाको तेस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार