सरकारले आज (मंगलबार) देखि गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकताको प्रमाणपत्र दिँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई आज बिहान पहिलो गैरआवासीय नेपाली नागरिकता दिएर यो कार्यको थालनी गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई नागरिकता दिएर यसको शुभारम्भ गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
अध्यक्ष आचार्यसँगै एनआरएनएका पदाधिकारीलाई पनि प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्यक्रम छ ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।
गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो। संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ ।
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
विगतमा नेपाली नागरिकता लिएको गैर आवासिय नेपाली भए पहिलाको नागरिकता त्याग गरेको प्रमाण आवश्यक पर्ने व्यस्था ऐनमा गरिएको छ ।