दुग्धजन्य पदार्थको मूल्यमा छुटैछुट

दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपैयाँदेखि दुई सय रुपैयाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ ।

सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपैयाँदेखि दुई सय रुपैयाँसम्मको छुट दिएको उल्लेख गरे ।

जारी विज्ञप्तिमा अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपैयाँ छुट भएको छ । ९७ रुपैयाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपैयाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्नेछन् ।

दही एक लिटरमा २० रुपैयाँको छुट दिइएको छ । अब डिडिसीको दही १९० रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले पाउने भएका छन् । पनिर एक किलोमा ५० रुपैयाँ, नौनी र घिउमा समान प्रतिकेजी एक सय रुपैयाँको छुट दिइने भएको छ । मिठाईमा प्रतिप्याकेट १० रुपैयाँ, याक नौनीमा प्रतिकेजी १५, याक चिज एक किलोमा एक सय रुपैयाँ छुट दिइने भएको छ ।

सबैभन्दा धेरै छुट टेवल बटर प्रतिकेजीमा दुई सय रुपैयाँ छुट दिइएको छ । फ्रेस मिल्कमा एक लिटरमा २५ रुपैयाँ छुट दिइएको छ ।

सम्बन्धित समाचार