पाँच दिनअघि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कबिहीन भएका एक जर्मन नागरिक बिरामी अवस्थामा भेटिएका छन् ।
शुक्रबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कविहीन भएका जर्मन नागरिक ७६ वर्षीय डा. साखर गमलाई खुम्बु क्षेत्रको लबुचेस्थित एक होटलमा बिरामी अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनी गएको शुक्रबार जहाजमार्फत लुक्ला ओर्लिएपछि एक्दै सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका थिए ।
उनी सम्पर्कबिहीन भएपछि नेपालस्थित जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खोजीको लागि खबर गरेको थियो । त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार संगठन लगायतले उनको खोजी सुरु गरेका थिए ।