अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । 

सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे ।

उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले समग्रमा देशमा अनेकन समस्या छन्। अन्तरराष्ट्रिय तहमा पनि अहिले धेरैखाले समस्या छन् । हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरु देखिरहेका छन् । मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ । अन्तरराष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ‚ त्योबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, विस्तारै हामी अन्तरराष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । सकारात्मक कुरा देखिएका छन्‚ त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन्। त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन ।’

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार