विराटनगरमा २५ वर्षीया युवतीमाथि सामुहिक बलात्कार

विराटनगरमा २५ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका–३ मा आइतबार बिहान ती युवतीलाई ललाइफकाइ गरेर तीन जना मजदुरले सामुहिक बलात्कार गरेका हुन् ।

सफारीमा यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।

तीनजना आरोपी ट्रकमा काम गर्ने मजदुर हुन् । उनीहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फेरि आएका थिए । त्यसपछि बलात्कारको घटना भएको पाइएको छ ।

बलात्कारकै क्रममा युवती चिच्याएपछि स्थानीयले थाहा पाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका एक १६ वर्षीय बालक छन् ।

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सोही ट्रकका सहचालक । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक हुन् ।

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडसमेत गरेका छन् । तोडफोडबाट ट्रकको अगाडिको शिशा फुटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार