नेपाल स्टार्टअप फेस्ट २०२३ डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग साझेदारी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने भएको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । मञ्चले स्टार्टअप व्यवसायमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारीसमेत गरेको छ ।

एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

कार्यक्रममा ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित गरिएको थियो । ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनी बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी ट्रेडिङ र वाइजयाकलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो ।

तीमध्ये ६ कम्पनीले लगानीका लागि मसझदारी गरेका ११ कम्पनीसमक्ष आफ्नो नवीन सोचबारे प्रस्तुतीकरण समेत गरेका छन् । ११ कम्पनीले स्टार्टअपमा गर्ने लगानीबारे छिट्टै घोषणा गर्ने भनिएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअप आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना ‍औंल्याए । मञ्चका अध्यक्ष अनुराग गोयलले स्टार्टअपलाई प्रोत्साहन गर्ने प्रतिबद्धता अनुरुप फेस्ट गर्न लागेको बताए । मञ्चले नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण एक वर्षअघि गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार