नेपाल टेलिकमले दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ ।
यो अफर आज (असोज २८ गते) देखि कात्तिक १० गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।
अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।
त्यसैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डाटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध हुनेछ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
त्यसैगरी, एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइनेछ ।
यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी २ जिबी डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी, ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड ११९९ प्याकेजः
यसअघि एक हजार ४९९ रुपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि एक हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यस अफरअन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जिबी डाटा उपलब्ध हुनेछ ।
यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइनेछ। पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।
असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकमले बताएको छ ।