प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनको समस्यालाई ‘सेफ ल्यान्डिङ’ गरिएको बताएका छन्।
शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशीको समस्यालाई जति ठूलो रूपमा सोचिएको थियो, तर त्यसलाई सेफ ल्यान्डिङ गर्न आफूहरू सफल भएको प्रतिक्रिया दिएका हुन्।
आजै बिहान बालुवाटारमा आफू कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भएको सहमतिले कोशीमा देखिएको खटपटलाई समाधान गरिएको दाबी गरेका हुन्।
‘कोशीमा गठबन्धनलाई राम्रैसँग झड्का दियो होइन’ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘वास्तवमा त्यो एउटा समस्या त पक्कै पनि हो, तर पनि हामीले त्यल्लाई एउटा सेटलमेन्टमा लगिएको छ र, मलाई लाग्छ यसले अन्ततः गठबन्धनलाई बलियो हुनेतिर नै अघि बढाउँछ।’