काठमाडौँ । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।
राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ। यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ।
छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन्।