मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार मानवअधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिणी गेटअगाडि गरेको विरोध प्रदर्शनबाट समाजका संस्थापक सभापति पहाडी र सभापति रामकृष्ण बरालसहित १६ जना पक्राउ परेका हुन् ।
विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई राष्ट्रपतिले दिएको आममाफी विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो ।
सोही विषयलाई लिएर यसअघि असोज २२ गते समाजले राष्ट्रपति कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेको थियो । त्यसक्रममा पनि प्रहरीले पहाडीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका १४ पुरुष र दुई जना महिला गरी १६ जनालाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको प्रहरीले जनाएको छ ।