देशभर बाढी-पहिरो : ४ जनाको मृत्यु, दर्जनौँ स्थानका सडक अवरुद्ध

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शनिबार ४ जनाको मृत्यु भएको छ । अन्य ६ बेपत्ता रहेका र आधा दर्जन ब्यक्ति घाइते भएको छन् ।

शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

यस्तै गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।

पहिरो तथा बाढीका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् छन् । वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन, धादिङ, गोरखा, हेटौंडा, काठमाडौं र बाजुरालगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।

ठाँउ–ठाँउमा सडक अवरुद्ध
अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। गए राति आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो। बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा–बारपाक सडक अवरुद्ध भएको छ।

यस्तै पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो ।

हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

त्यस्तै पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युत्‌को पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्याङ्की समेत भत्काइदिएको थियो ।बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए । मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको छ। यता अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो ।

सप्तकोसीमा पानीको बहाव उच्च

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।

शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५ क्युसेक पुगेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको छ ।

सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन् । पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २९ वटा मात्र ढोका खोलेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार