कोशीमा विकसित राजनीतिक घटनाक्रम अप्रत्याशित र आकस्मिक: कांग्रेस प्रचार विभाग प्रमुख

नेपाली कांग्रेसले कोशी प्रदेशमा विकसित भएको राजनीतिक घटनाक्रमलाई अप्रत्याशित र आकस्मिक भनेको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो प्रकरणलाई अप्रत्याशित र आकस्मिक घटना भएको बताएका हुन् ।

‘पार्टीका सबै नेताहरूसँग छलफल गरेर नै निर्णयमा पुगिएको थियो तर आकस्मिक र अप्रत्याशित घटना भएको छ । यसबारे पार्टीले बैठक नै गरेर धारणा बनाउनुपर्छ,’ उनले भने । उनले यो प्रकरणको गम्भीर समीक्षा हुने पनि बताएका छन् ।

कोशीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने बिहीबार बालुवाटारमा छलफल गरेर सहमति गरेको थियो ।

तर डा. शेखर कोइराला पक्षका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार कांग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कोशीमा कांग्रेसका २९ जना सांसद छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा संसदीय दल नेताको हस्ताक्षरसहित माओवादीका आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए ।

गत असोज २० गते हिक्मत कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

कांग्रेससहित केन्द्रमा सरकार बनाएको सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूले कोशीमा माओवादीको मुख्यमन्त्री बनाउन सहमति गरे पनि कांग्रेस कोशीका केही सांसदहरूले यो निर्णय अस्वीकार गरेका हुन्।

कोशीमा विकसित राजनीतिक घटनाक्रम अप्रत्याशित भएको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार