प्रधान सेनापति शर्मा तथा बेलायती सेनाका सेनाध्यक्षबीच भेटवार्ता

यही असोज २१ गतेबाट बेलायत भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक सनडेसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए । द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छल‌फल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्‍नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कोल पउल स्मिथको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधान सेनापतिले बेलायतको रोयल कलेज अफ डिफेनस स्टडिज (आरसीडीसी) को भ्रमण गरेका छन् । भ्रमणको दौरान उनलाई उक्त कलेजका कान्डेन्ट लफ्टिनेन्ट जनरल जर्ज नर्टनले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिहरू बारे जानकारी गराएका थिए ।

प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए । त्यस अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनैतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार