कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दुई पक्षका नेता एक साथ प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् ।
केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ईन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको शेखर पक्षका केदार कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् ।
हस्ताक्षर गर्नेमा कार्की बाहेक इन्दिरा थापा, रामकुमार खत्री, मानबहादुर लिम्बू ,सुनिताकुमारी गुरुङ, लीला राई, गोविन्द गिरी र आफू रहेको कांग्रेस सांसद शमशेर राईले बताए ।
अर्कोतर्फ गठबन्धनको निर्णयानुसार ईन्द्र आङ्बोले पनि गठबन्धनका सम्पूर्ण (४७) सांसदको हस्ताक्षरसहित दाबी पेश गर्न लागेका छन् ।
यसअघि नै हस्ताक्षर संकलन गरिएकाले शेखर पक्षका सांसदको समेत हस्ताक्षर उनीसँग रहेको गठबन्धनका एक नेताले बताए ।
कोशी मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए ।