नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् ।
राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्न बस्नेत बिहीबार झापा पुगेका थिए । त्यस क्रममा उनलाई प्रदर्शनकारीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । कडा सुरक्षाबीच कार्यक्रमस्थल पुगेका बस्नेतले नगर अधिवेशन उद्घाटन गरेका छन् ।
तर प्रदर्शनकारीले कार्यक्रमस्थल आसपास राखिएका गाडीमा ढुंगा प्रहार गर्दै शिशा फुटाइ दिएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विक्रम सुब्बालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम चलुन्जेल अर्जुनधारा क्षेत्रमा पहिचानवादीले नारावाजी गरेका थिए ।
कार्यक्रमस्थलभन्दा ५०० मिटर टाढा पार्किङमा राखिएका एमाले नेताका २५ भन्दा बढी गाडीमा तोडफोड भएको बताइएको छ । त्यसबट करिब एक करोडको रुपैयाँ बराबरको क्षति भएको एमाले झापाको दाबी छ । प्रसाईंले काठमाडौँमा मोसो दलिएको घटनाको बदला लिने चेतावनी दिएका थिए । जिल्ला प्रहरी कार्यालय झापाले अहिले स्थिति सामान्य रहेको जनाएको छ ।