हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार बसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैयाँको दरले धरौटी माग गरेको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेको जिल्ला अदालत मकवानपुरले जनाएको छ। हेटौंडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा। विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।
यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौंडा–१० बाट पक्राउ गरेको हो।