कर्णाली प्रदेशमा सुरु भयो लागु औषधविरुद्धको ‘लालटिन अभियान’, रक्षामन्त्रीले गरे शुभारम्भ

कर्णाली प्रदेशमा लागु औषधविरुद्धको ‘लालटिन अभियान’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार अभियानको शुभारम्भ गरेका छन् ।

लागुऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिंगो समाज यसकाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । “सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागू औषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो”, उनले भने, “घर, समाज र राष्ट्रलाई लागू औषधमुक्त बनाउका लागि सबैले सङ्कल्प गर्नु आवश्यक छ ।”

मन्त्री खड्काले सीमा नाकामा हुने लागू औषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । “सिमाबाट हुने लागू औषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने, “यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”

खड्काले लागू औषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार