भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि आइपुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ आएका हुन् ।
उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढका साथै गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपालसँगको सीमा क्षेत्रमा पर्दछ ।
यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार अनौपचारिक जानकारी अनुसार अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको जानकारी लिएको र त्यसबाहेक अन्य कुनै जानकारी नआएको बताए । प्रधानमन्त्री मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ ।