इजरायल घटना देखाएर सरकार ढाल्ने प्रयत्‍न भइरहेको छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उप(महासचिव वर्षमान पुनले इजरायल(प्यालेस्टाइन द्वन्द्वको नाममा विरोधीहरूले मुलुकमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको बताएका छन् ।

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न र मृत्यु भएकाहरूको शव ल्याउन नसकेको आरोप लगाउँदै विरोधीहरूले सरकार ढाल्ने प्रयास गरिरहेको दावी गरेका हुन् ।

तर, सरकारले त्यहाँ फसेकाको उद्धार र मृत्यु भएकाको शव ल्याउन प्रयास गरिरहेको उनको भनाइ छ । सरकारले राम्रो प्रयास गरेर विरोधीहरूको सरकार ढाल्ने प्रयासलाई विफल बनाइदिएको उनको भनाइ छ ।

उनले सरकारले इजरायल सरकारसँग समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै देशमा सरकार भएको अनुभूति दिलाएको जिकिर गरे ।

उनले बुधबार मात्र सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको बताए । ‘इजरायल युद्धको बहानामा सरकारमाथि घेराबन्दी गरेर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भइरहेका छन्,उनले भने,‘तर, सरकारको जिम्मेवारीपूर्ण पहलका कारण ती सबै प्रयास असफल भएका छन् ।’

१० नेपालीको विदेशी भूमिमा हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाको रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको उनले टिप्पणी गरे ।

यस्तै फरक प्रसंगमा पुनले देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सदभाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको बताए । सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सदभावविरोधी घटनामा प्रतिगामी र व्यवस्थाविरोधी तत्वको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको उनको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार