शिशु बिक्री प्रकरण : चिकित्सकसहित ३ जनालाई थुनामा राख्न आदेश

नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका –२ आर्दशटोलका सूर्यनारायण राजवंशी र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका –४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार आदेशपछि तीनै जनालाई जिल्ला कारागार मोरङ चलान गरिएको छ । मुद्दामा अभियुक्त बनाइएका सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी-२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको छ ।

शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार तीनै जना धरौटीवापतको रकम बुझाएर छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। अभियुक्तमध्ये डा. तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीले अभियुक्तविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूर, मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, वकिल कार्यालयले मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाएन। अपहरण र व्यक्ति बेपत्ता पारेको कसूरमा मात्रै मुद्दा चलायो ।

डा. कर्णले पछिल्लो पटक अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

ग्रिनक्रस अस्पतालनजिक रहेको आफनो क्लिनिकमा उपचारका लागि आएकी अविवाहित युवतीलाई ग्रिनक्रस अस्पतालमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र नर्स निर्मला यादवमार्फत डा. कर्णले मोरङको कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै पक्राउ परेका ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको थियो ।

डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टसमेत थिए । डा. कर्ण पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको थियो । एमबीबीएस एमडीजीपी गरेका डा. कर्णले ग्रिनक्रस अस्पतालनजिक रहेको आफ्नो निजी दीपेश मेडिकल क्लिनिकबाट गर्भवती महिलालाई विभिन्न निजी अस्पताल रिफर गरेर नवजात शिशु बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार