माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान

हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने ओलीको अडान

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ पाँच बजेसम्म राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो ।

ओलीले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने पनि बताएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छुट नभएको बताएका हुन् । ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन,’ बैठकमा ओलीले भने, ‘यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’

एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार