प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । “प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको जानकारी दिनुभयो । उहाँले असोज २६ गते नेपाल आउने गरी निम्तो दिनुभएको छ,” पौडेलले भने, “नेपालको शान्ति प्रक्रियालगायत अन्य विविध विषयमा महत्वपूर्ण छलफल हुने छ ।”
असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।