नेपालगञ्जमा कर्फ्यू खुकुलो बनाउँदै हटाउने सर्वपक्षीय बैठकको निर्णय

नेपालगञ्जमा सर्वपक्षीय बैठकले कर्फ्युलाई क्रमशः खुकुलो बनाउँदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सामाजिक सञ्जालमा सद्भाव विरोधी गतिविधि गर्नेलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकले सद्भाव भड्किन नदिन सबैले आ आफ्नो ठाउँबाट प्रतिबद्धता गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ । बैठकमा सांसद डा। धवलशमशेर राणा, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवाको उपस्थित थियो ।

नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यू लगाइएको छ । बुधबार दिनभरि नै नेपालगञ्ज शान्त रहेको छ । ठूलो संख्यामा परिचालित प्रहरीले अत्यावश्यक काममा हिँडेकोबाहेकलाई हिँड्न दिइएको छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले अत्यावश्यक काममा हिँडेका व्यक्तिलाई सोधपुछ गरेर जान दिइएको बताए ।

भारतबाट बिहान आइपुगेका सबैलाई सम्बन्धित ठाउँतिर पठाइएको छ । नाकाबाट ट्यांकर, फलफूल बोकेका गाडी भित्रिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार