माओवादी सचिव आचार्य अस्वस्थ, चल्न छाड्यो शरीरको दाहिने पाटो

नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन्।

माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनी तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्।

अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई स्थानीय बयलपाटा अस्पतालमा उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

“प्यारालाइसिस जस्तो समस्या देखियो, कार्यक्रममा सहभागी हुन जाँदा बोल्न सक्नु भएन, एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ,” उनले भने।

अस्वस्थ रहेका आचार्य बोल्न सक्दैनन् भने उनको शरीरको दाहिने भाग नचल्ने भएको छ।

अहिले उनको नेपालगञ्जमा उपचार भइरहेको माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बताए। तर त्यहाँबाट पनि आचार्यलाई तत्काल काठमाडौं लैजान डाक्टरहरुले सुझाएको भट्टले बताए।

बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो।

त्यहाँका पनि डाक्टरले तत्काल उपचार सम्भव नभएको बताएकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको नेता भट्टले बताए। अर्घाखाँचीका स्थायी बासिन्दा आचार्यलाई अहिले काठमाडौं ल्याउन लागिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार